लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रूपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गरेका छन्।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आग्रह गरेका हुन्।
‘सरकार सच्चिन चाहन्छ। त्यही भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस्। हामी सच्चिन तयार छौं,’ उनले भने, ‘आलोचना गर्न नडराउनुस्, म सच्चिन चाहन्छु, सकिन चाहदिनँ।’
राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखेको उनले बताए।
‘मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छौं। यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्ने छ,’ उनले भने, ‘जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी गर्दैन। अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौं।’
पूर्व विशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको उनले दाबी गरे।
आफूले पदबहाली गरेको ४७ दिन पुगेको भन्दै उनले सरकारले यो अवधिमा सुशासन, पारदर्शिताको क्षेत्रमा केही महत्वपूर्ण कामहरू अघि बढाएको चर्चा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरेका थिए। समाज रूपान्तरणको लागि मिडिया क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै जनताको पक्षमा संधै आवाज बुलन्द पार्न आग्रह गरे।