राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान सत्तारूढ कांग्रेस र एमालेलाई चुनौती दिएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा अहिलेको व्यवस्थाले देश बर्बाद भएको भन्ने विषय सबैले बुझेको बताउँदै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन्।
'तपाईंहरूसँग दुई तिहाई छ। हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् तपाईंहरूलाई हामी समर्थन गर्छौं। अनि चुनाव लडेर आऔं, जितौं,' उनले भने।
उनले उपसभामुखलाई हटाउन खोजिनु पनि यही व्यवस्थाभित्रको नकारात्मक पक्ष रहेको बताए।
'आफै मन्त्री हुने आफै प्रधानमन्त्री हुने व्यवस्था ठीक भएन। हेर्नुस् त उपसभामुखलाई! भोलि यिनिहरूको के चित्त बुझ्दैन फेरि अर्कालाई! संविधानमै लुप होल छ। संसोधन गरौं,' उनले भने।
शाहीले एक पटक संवैधानिक आयोगको प्रमुख भइसकेपछि चेन्ज गर्न नसक्ने व्यवस्था बनाउन पनि आग्रह गरे।
'एकपटक जनताबाट जितेपछि पाँच वर्ष फिक्स शासन गर्ने बनाऔं न। संसदलाई कानुन बनाउने मात्रै थलो बनाऔं न। मन्त्री बन्न त्यो क्षेत्रको क्षमता भएको मन्त्री बन्ने हो। स्वास्थ्य मन्त्रीलाई स्वास्थ्यको 'स' थाहा छैन। कानुनमन्त्रीलाई कानुनको 'क' थाहा छैन। अनि देश बन्छ? प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुभयो भने यो भन्दा उत्तम प्रजातान्त्रिक व्यवस्था संसारमा अरू हुन सक्दैन,' उनले भने।