राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले टेक्सासमा एउटा कन्सुलर अफिस खोल्न सके प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण सफल हुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा शाहीले एउटा काउन्सुलर अफिस नहुँदा त्यहाँ ४ लाख भन्दा बढी नेपालीहरूले दुःख पाएको बताउँदै त्यहाँ कन्सुलर अफिस खोलेर आउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओली असोजमा अमेरिका भ्रमणमा जाँदैछन्।
'६ देखि ७ लाख मानिसहरू बस्छन्। झन्डै ४ लाख मानिसहरू तीनवटा स्टेटहरू टेक्सास, कोलोराडो र क्यालिफोर्नियामा बस्छन्। राजदूतावास रहेको डिसी ती स्टेटहरूबाट टाढा छन्,' शाहीले भने।
सरकारले स्वदेशमा मात्र नभई विदेशमा समेत नेपाली युवाहरूलाई दुःख दिएको शाहीले बताए।
'दुई जना कर्मचारी चाहिन्छ जम्मा। जग्गा पनि नेपालीले नै दिन्छु भन्याछ। टेक्सासमा। एउटा काउन्सुलर अफिस खोलेर आउन अपिल गर्छु,' उनले भने।
अमेरिकामा नेपाली राजदूत बस्ने घर ठूलो तर कार्यालय सानो रहेको पनि उनले बताए।
'राजदूत बस्ने घरलाई कार्यालय र कार्यालयलाई राजदूत बस्ने घर बनाइयोस्,' उनले भने।
शाहीले प्रधानमन्त्री ओलीलाई स्वागत गर्न को आउँछ भनेर पनि हेरिरहने बताए।