कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरूद्ध प्रदेशसभामा अनसन गर्ने घोषणा गरेपछि स्थानीय प्रशासनले विराटनगरका केही क्षेत्रलाई निधेषित क्षेत्र घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा, जुलुस, धर्ना लगायतका गतिविधिमा रोक लगाएको हो।
आफ्नो कार्यकालमा लागू गरिएका केही कल्याणकारी योजना वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाइदिएको भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ बजेदेखि प्रदेश सभा परिसरमा अनसन बस्ने घोषणा गरेका थिए।
प्रशासनले मंगलबार दिउँसो जरूरी सूचना जारी गर्दै आजै दिउँसो ३ बजेदखि लागू हुने गरी निषेधित क्षेत्र तोकेको हो।
प्रशासनले जारी गरेको सूचनामा कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास वरपरको ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।
ती क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि सर्वसाधारणको आउजाउ र सवारीसाधन बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना, प्रदर्शनी लगायतका विरोधजन्य कार्यहरू गर्न स्थानीय प्रशासन ऐन अनुसार निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ। सो आदेशको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ।