नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रश्न उठ्दैमा राजीनामा दिने हो भने अन्य मन्त्रीहरूमाथि पनि प्रश्न उठेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रीहरूमाथि पनि प्रश्न रहेको भन्दै राजीनामा दिन तयार रहे/नरहेको भन्दै प्रश्न गरेका हुन्।
‘प्रश्न उठेर राजीनामा दिने हो भने १०औं मन्त्रीका प्रश्न उठेका छन्। राजीनामा दिन तयार हुनुहुन्छ?,’ उनले प्रश्न गरे।
उनले मन्त्रीहरूमाथि लाउडा प्रकरण, वाइडबडी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रश्न उठेको बताए।
यस्तै उनले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजेको कुरा दुखदायी भएको बताए। यसले लोकतन्त्रमा समेत असर पुग्ने उनको भनाइ थियो।
‘एक जना महिला, जनजाति, सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनिएको दुई तिहाइको सरकारले हटाउने भन्ने सदनमा प्रवेश गर्ने कुरा निकै दुखदायी छ,’ उनले भने, ‘यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन। सुढृद लोकन्तत्रको संरक्षण र विकास सहकार्यको प्रणाली यो देशमा अगाडि बढ्न सक्दैन।’
सरकारले यसलाई गम्भीरता पूर्वक सुन्न पनि उनले आग्रह गरे।
‘यस प्रकारका कुराहरूको गम्भीरता पूर्वक सुनोस्। र हटाउन खोजिएको हो भने नगर्नका निम्ति हामी खबरदारी गर्न चाहान्छौं,’ उनले भने।