नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा रानामाथि प्रश्न उठेको भन्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्।
‘त्यसैले मेरो भन्नु के छ भने जब यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्ग प्रशस्त गरे के बिग्रिन्छ त। बाँकी सबैलाई एकमुष्ठ जवाफ भएन?,’ उनले भने।
आफूमाथि प्रश्न उठ्दा मन्त्री पदबाट राजीनामा दिएको भन्दै राजनीतिक व्यक्तित्वहरूसँग प्रश्न उठेपछि मार्ग प्रशस्त गर्न सक्ने साहस र आँट हुनुपर्ने उनले बताए।
‘मेरो सामान्य सुझाव छ उपसभामुखज्यूलाई जब यत्रो प्रश्न उठेर सदनमा पटकपटक कुरा उठिसक्यो भने यहाँ कयौं दृष्टान्तहरू छन् जसमध्ये म पनि एउटा हुँ। प्रश्न उठिसकेपछि मैले पदबाट राजीनामा दिएको थिएँ,’ उनले भने, ‘ममाथि छानबिन गरियोस् भनेर, दोषी भए प्रमाणित गरियोस्, तथ्यका आधारमा प्रमाणित गरियोस् र कारबाही गरियोस्। यो नैतिकता यति आँट, यति साहस राजनीतिक मान्छेहरूसित हुनुपर्छ।’
यसअघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानाको बचाउ गरेका थिए।
‘आज बिहान आएका समाचारहरू हेर्दा लाग्छ- यो राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ। उपसभामुखलाई महाभियोग लगाउने कुरा राजनीतिक पार्टीहरू बसेर सल्लाह गर्ने कुरा कहिल्यै पनि लोकतन्त्रका लागि मान्य हुँदैन,’ प्रमुख सचेतक परियारले भनेका थिए।
यसमा जवाफ दिँदै बाँस्कोटाले लोकतन्त्रमा प्रश्न गरेर कसैको चिरहरण नहुने पनि बताएका छन्।
‘यहाँ कतिपय साथीहरूले भन्नुभयो यो लोकतन्त्रको चिरहरण हुन्छ उहाँमाथि प्रश्न उठाउन मिल्दैन,’ उनले भने, ‘मेरो सामान्य ज्ञानले के भन्छ भने लोकतन्त्र नै त्यो व्यवस्था हो जसले सबैमाथि प्रश्न उठाउन पाउँदछ।’