नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजिएकोबारे समाचारहरू आएकोले यसबारे जबाफ माग गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले उपसभामुखलाई हटाउने कुरा सत्य हो भने त्यसको जबाफ माग गरेका हुन्।
‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ,’ उनले भने, ‘यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।’
सत्ता गठबन्धनले उपसभामुखको आचरणलाई लिएर हटाउने प्रस्ताव राख्ने तयारी गरेका छन्।
उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।
उपसभामुख सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्।
उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेकी थिइन्।