राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू हुनेबित्तिकै आकस्मिक समयमा बोलेका सांसद परियारले राजनीतिक पार्टीहरूबीच सल्लाह भएर उपसभामुखलाई पदबाट हटाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने बताए।
‘आज बिहान आएका समाचारहरू हेर्दा लाग्छ- यो राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ। उपसभामुखलाई महाभियोग लगाउने कुरा राजनीतिक पार्टीहरू बसेर सल्लाह गर्ने कुरा कहिल्यै पनि लोकतन्त्रका लागि मान्य हुँदैन,’ प्रमुख सचेतक परियारले भने।
संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा उससभामुखलाई पदबाट हटाउन दलहरू लागेको उनको भनाइ छ। ‘रास्वपा लोकतन्त्रका लागि सधैं लड्नेछ, एउटा मुद्दा गुमाउला,’ उनले भने।
लोकतन्त्रका लागि जनता सडकमा ओर्लिएर पार्टीहरूविरूद्ध आन्दोलन गर्ने विश्वास पनि रास्वपालाई रहेको उनले बताए।
सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा उपसभामुख रानामाथि आचरणको प्रश्न उठेकोले हटाउन प्रस्ताव दर्ता गर्ने विषयमा सत्तारूढ दलहरूबीच सहमति भएको थियो।
सत्ता गठबन्धनमा दुई तिहाइ रहेको र त्यो संख्या उपसभामुखलाई हटाउन पुग्ने उनीहरूको भनाइ थियो।
संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा उपसभाखुले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ।
प्रतिनिधि सभाका एक चौंथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्छन्।
उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।
उपसभामुख सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्।
उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेकी थिइन्।
यो पनि: उपसभामुख रानाविरूद्ध अविश्वास प्रस्ताव लैजाने सत्तारूढ दलको तयारी