नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको विश्वविद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार हुन आवश्यक रहेको बताएका छन्।
विश्वविद्यालयको कुलपतिका रूपमा रहने प्रधानमन्त्री जिम्मेवार हुँदा मात्रै अपेक्षित रूपमा शिक्षा क्षेत्र सुधार हुने उनले बताए।
मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावी सभालाई सम्बोधन गर्दै नेता महरले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री नै विश्वविद्यालयमा कुलपति हुने व्यवस्था रहेको र कुलपति दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विश्व विद्यालयमा दलीय करण व्याप्त रहेको बताए।
'विश्वविद्यालय देशको दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो। त्यो राजनीतिक प्रभावबाट टाढा रहनुपर्छ। विश्व विद्यालयमा दलीय करण हुनु हुँदैन। गुणस्तरीय शिक्षा अभिवृद्धिका साथै विश्वविद्यालयलाई दलीयकरणबाट मुक्त गराउन कुलपति भूमिकामा रहने प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ,' उनले भने।
उच्च शिक्षाभित्रको गुणस्तरीयता ह्रास हुनुमा पनि दलगत स्वार्थ र प्रभाव नै प्रमुख कारक बनेको महरले बताए। उनले प्रधानमन्त्रीदेखि प्राध्यापक हुँदै विद्यार्थीसम्मको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा अभिवृद्धि नै हुनुपर्ने बताए।