सरकारले चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने भएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कांग्रेसकी यादवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।
यादव पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख, कांग्रेस पूर्वकोषाध्यक्ष, पूर्वशिक्षा मन्त्री, केन्द्रीय सदस्य पनि हुन्।
गत साउन १४ गते सरकारले १८ देशका राजदूत सिफारिस गरेकोमा समावेशी नभएको भन्दै आलोचना भएको थियो।
राजदूत सिफारिस समावेशी नभएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भदौ १८ गते सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको थियो।
समितिमा परराष्ट्र मन्त्री आरजु राणाले राजदूत सिफारिसमा समावेशी नभएकोमा 'आइ एम सरी' समेत भनेकी थिइन्।
यसपछि मन्त्री राणाले अस्ट्रेलियाको राजदूतमा कांग्रेसकी यादवलाई सिफारिस गर्ने तयारी गरेकी थिइन्।
सरकारले यसअघि कांग्रेसको कोटामा कान्ता रिजाललाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको थियो। तर उनीमाथि इजरायलका लागि राजदूत भएका बेला लगेका सहयोगीलाई स्वदेश फिर्ता नल्याएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि सरकारले राजदूत सिफारिसबाट नाम फिर्ता लिएको थियो।
राजदूतले सरकारी खर्चमा दुई जनासम्म सहयोगी लैजान पाउने व्यवस्था छ। तीमध्ये एक जना स्वदेश फिर्ता आएको नदेखिएपछि रिजालको नाम फिर्ता लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।