लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
विभिन्न दफा र उपदफाहरूमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएपछि सरकारले ऐन संशोधनको प्रस्ताव अघि बढाएको पन्थीले बताए।
२०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो। प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको थियो।
प्रदेश मन्त्रिपरिषद्कको बैठकले गरेको निर्णय अनुसार आगामी प्रदेश सभा बैठकमा ऐन संशोधन प्रस्ताव पेश हुने मन्त्री पन्थीले जानकारी दिए।