परराष्ट्र मन्त्री आरजु राणा देउवाले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गर्ने तयारी गरेकी छिन्।
राजदूत सिफारिस समावेशी नभएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भदौ १८ गते सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको थियो।
गत साउन १४ गते सरकारले १८ देशका राजदूत सिफारिस गरेकोमा समावेशी नभएको भन्दै आलोचना भएको थियो। समितिमा उपस्थित भएकी परराष्ट्र मन्त्री देउवाले राजदूत सिफारिसमा समावेशी नभएकोमा 'आइ एम सरि' भनेकी थिइन्।
राजदूत समावेशी नभएकोमा समितिले सरकारको ध्यानाकर्षण गराएको भन्दै परराष्ट्र मन्त्री देउवाले अष्ट्रेलियाको राजदूतमा कांग्रेसकी यादवलाई सिफारिस गर्ने तयारी गरेकी हुन्।
कांग्रेसले पनि आफूहरूको कोटामा यादवलाई राजदूतमा सिफारिस गर्न परराष्ट्र मन्त्री देउवालाई भनिसकेको र अब मन्त्रिपरिषदमा यादवको नाम सिफारिस हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यादव पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख, कांग्रेस पूर्वकोषाध्यक्ष, पूर्वशिक्षा मन्त्री, केन्द्रीय सदस्य पनि हुन्।
सरकारले यसअघि कांग्रेसको कोटामा कान्ता रिजाललाई अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको थियो। तर उनीमाथि इजरायलका लागि राजदूत भएका बेला लगेका सहयोगीलाई स्वदेश फिर्ता नल्याएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि सरकारले राजदूत सिफारिसबाट नाम फिर्ता लिएको थियो।
राजदूतले सरकारी खर्चमा दुई जनासम्म सहयोगी लैजान पाउने व्यवस्था छ। तीमध्ये एक जना स्वदेश फिर्ता आएको नदेखिएपछि रिजालको नाम फिर्ता लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रस्तावित राजदूतहरूमाथि संसदीय सुनुवाइ भइरहेको छ।