उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आग्रह गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर १ मा मंगलबार भएको कार्यक्रममा बोल्दै उनले सरकारले जनतामा आशा जगाउने गरी काम गर्न लागेको दाबी गरे।
उनले सुरक्षित र व्यवस्थित सहर बनाउन आफूले सम्हालेको मन्त्रालयले काम गरिरहेको पनि बताए।
मन्त्रालयले सहर र ग्रामीण भेग दुवैलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ।
‘जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालन तहमा पुगेका हुन्। राम्रा विचार, आइडिया र रचनात्मक सुझाव छन् भने दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने, ‘काठमाडौं उपत्यकाभित्रका नदी र ढल व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको छ, परिणाम देखिन समय लाग्छ।’
काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति मन्त्रालयअन्तर्गत रहेकाे भन्दै सिंहले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन र नदी प्रणाली सुधार्ने कामलाई प्राथमिकता दिइएको बताए।