गृहमन्त्री रमेश लेखकले तिङ्करमा छिट्टै अध्यागमन कार्यालय स्थापना गरिने बताएका छन्।
सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न अबको तीन, चार महिनाभित्रमै तिङ्करमा अध्यागमन कार्यालय स्थापना गरिने गृहमन्त्री लेखकको भनाइ छ।
महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्वपूर्ण परियोजना अघि बढाएर भारत र चीनसँग पनि जोडिने उनले बताए।
‘तीन, चार महिनामा तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरेर तेस्राे मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटाे अगाडि बढाउने याेजना अगाडि सारेकाे छु,’ गृहमन्त्री लेखकले सोमबार प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालले गरेको कार्यक्रममा भने, ‘सुदूरपश्चिमबाट भारत र चीनलाई जाेड्ने काम गर्ने छाैँ, यसले सुदूरपश्चिमकाे विकासमा टेवा पुग्ने छ।’
फरक प्रसंगमा उनले जनतामा उत्पन्न निराशालाई आशामा बदल्न कांग्रेस र एमाले मिलेर सरकार बनाइएको बताए।
शिथिल भएकाे अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित राेजगारी सिर्जना गर्न सरकारले काम गरिरहेको उनको भनाइ छ।
उनले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्न संविधान संशोधन गर्न खोजिएको बताएका छन्।
नयाँ सरकार बनेको छोटो समयभित्रै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुटाएर प्रतिनिधि सभाबाट पारितसमेत भइसकेको उनले बताएका छन्।