परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो।
भेटवार्तामा द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष र पाटाबारे कुराकानी भएको परराष्ट्र मन्त्री राणाको भनाइ छ।
‘भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल-भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु,’ परराष्ट्र मन्त्री राणाले भनेकी छन्।
विदेश मन्त्री जयशंकरकै निमन्त्रणामा परराष्ट्र मन्त्री राणा भारतको औपचारिक भ्रमणमा गएकी हुन्।
सोमबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो।
परराष्ट्र मन्त्री राणा आइतबार भारत प्रस्थान गरेकी थिइन्।
उनी यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ।
मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत छन्।