नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन 'अनन्त ले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरूलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन्।
पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तकारी प्युठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पुनले सुरूआती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए।
आफूहरूलाई सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट गर्दै उनले भ्रष्टाचारविरूद्धको अभियानबाट सचेत भएका जनताको भावना विपरीत सरकार अघि बढे जनताले विद्रोह गर्ने चेतावनी दिए।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचार र राज्य दोहनका विरूद्ध कठोर कदम चालेपछि आत्तिएका तत्वहरूले रातारात सरकार ढालेको उनको भनाइ थियो।
‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानलाई अनियमितता, राज्य दोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरूले मन पराएनन्,’ पुनले भने, ‘म यो सरकारलाई भन्न चाहन्छु हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको भ्रष्टाचार र राज्य दोहनविरूद्धको अभियान नरोकियोस्।’
पुनले भ्रष्टाचार र राज्य दोहनको प्रक्रिया नरोकिए नेपालमा श्रीलंका र बंगलादेशको परिस्थिति आउन सक्नेतर्फ सचेत गराए।