राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताएका छन्।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको बताए।
उनले दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको बताए।
उनले सरकारमा दलित समुदायको शून्यता रहेको बताए।
उनले मन्त्रिपरिषद्मा बस्ने समेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अझ अपमान गरेको बताए।
उनले अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनुभन्दा नबनाएको भए नै राम्रो हुने बताए।
उनले भने,‘आज दलितलाई विभिन्न यो वा त्यो बहानामा भेदभाव र दमन भइरहेको छ। हामीले हरेक गाउँमा, हरेक टोलमा हरेक जिल्लामा देखिरहेका छौं। जहाँ कुटपिट, अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन् र त्यसले न्याय पाइरहेको छैन। हामीले पटक पटक भन्ने गरेका छौं। यस विषयमा सरकार गम्भीर भएको छैन। आज दलितलाई विभिन्न बहानाहरूमा फेरि पनि उही ढंगको परम्परागत सोच र शैलीले थिचेर बाध्य पारिएको छ। यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सरकारको ध्यान जाओस्। सरकारमा दलित समुदायको शून्यता छ। क्याबिनेटमा बस्ने समेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले अझ दलित समुदायमाथि अपमान गरेको छ। अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनुभन्दा नबनाएको भए नै राम्रो हुन्थ्यो।’
सांसद विश्वकर्माले नीति निर्माणका उच्च ओहोदामा दलित समुदायलाई नियुक्ति गर्न सरकारसँग माग गरे। —न्युज एजेन्सी नेपाल