खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएको विषयलाई लिएर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दल बाँकेले दोषीमाथि कारबाहीको माग गरेको छ।
तरूण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो सदस्यद्वयमाथि भएको सांघातिक हमलाका दोषीलाई तत्काल कारबाही नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्।
एक समूहको खुँडा र खुकुरी आक्रमणबाट बैजनाथ गाउँपालिका– ७ पर्शुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका–२ का २८ वर्षीय सन्दीप विष्ट गम्भीर घाइते छन्।
उनीहरूमाथि शनिबार बेलुका साढे ७ बजेतिर १० देखि १५ जना युवाको समूहले ज्यान मार्ने उद्देश्यले राप्ती सोनारी–५ बिनौना चोकमा सांघातिक आक्रमण गरेको हुँदा दोषीमाथि तत्काल कारबाही हुनुपर्ने माग तरूण दलले गरेको छ।
तरूण दलको नेताहरूले जारी गरेको विज्ञप्तिमा विगतदेखि नै आतंक मच्याउँदै आएको आपराधिक समूहले छिमेकी जिल्ला दाङबाट समेत गुण्डागर्दीमा आबद्ध गिरोहका मान्छेहरू बोलाएर बिनौना चोकमा ढुकेर राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्र राज वली भनिने (ज्ञानु) को समूहले आक्रमण गरिएको दोषारोपन गरिएको छ।
आरोपित वडाध्यक्ष नेकपा एमालेनिकट युवा संघ बाँके जिल्ला अध्यक्ष पनि हुन्। उनलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
तरूण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष वलीको नेतृत्वमा स्थानीय नारायण डाँगी समेतका १० देखि १५ जनाको समूहले बाटो ढुकेर योजनाबद्ध रूपमा सांघातिक आक्रमण गरेको उल्लेख गरेका छन्।
प्रहरीले वडाध्यक्षसहित चार जनालाई नियन्त्रणमा लिएको बताए पनि अन्य तीन जनाको नाम भने सार्वजनिक गरिसकेको छैन।