प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
‘शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन।’
अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गरे।
उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको जनाए।
‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए। शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो। ती प्रयास गलत थिए,’ उनले भने।