नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्।
शनिबार बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यले डाकेको बैठकमा गिरी यसअघिका दल नेता लिला गिरी भने सहभागी थिएनन्।
गिरीको पूर्वनिर्धारित कार्यक्रम भएकोले रुपन्देही बाहिर भएकोले बैठकमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ।
आफूलाई पाखा लगाएर दलका उपनेता आचार्य मुख्यमन्त्री बनेपछि गिरी असन्तुष्ट थिए। उनी यसअघि एमालेबाट दल नेता हुँदै मुख्यमन्त्री बनेका थिए। आचार्य मुख्यमन्त्री बनेपछि गिरीले गत साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।
गिरीको राजीनामापछि पहिलोपटक बसेको संसदीय दलको बैठकले आचार्यलाई दल नेता चयन गरेको हो।
बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष समेत हुन्।
प्रमुख सचेतकमा रुपन्देहीका तुल्सी प्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन भएका छन्। चौधरी यसअघि पनि प्रमुख सचेतक थिए भने सचेतक रहेकी दाङकी रेखा शर्मालाई हटाएर तामाङलाई चयन गरिएको हो।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसयता एमालेमा केही असन्तुष्टि देखिदै आएको थियो।
एमाले दलको बैठकमा एमाले प्रदेश कमिटी इन्चार्ज समेत रहेकी एमाले सचिव पदमा अर्याललाई समेत सहभागी थिइन्।
मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आहृवान भैसकेको छ।