दल नेता लीला गिरिले राजीनामा दिएपछि पहिलोपटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ।
पार्टीबाट मुख्यमन्त्री सिफारिसको विषयमा असन्तुष्टि जनाउँदै एमालेका संसदीय दलका नेताबाट गिरीले राजिनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो।
बैठक शनिबार दिउँसो २ बजे बस्नेछ।
बैठकले मुख्यमन्त्रीले लिने बिश्वासको मतका तयारीका बारेमा छलफल गर्ने भनिएको छ। यद्यपि बैठक आह्वान गरेका मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकको एजेण्डाबारे सांसदहरुलाई समेत जानकारी दिएका छैनन्।
गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ गते प्रदेससभामा विश्वासको मत लिँदै छन्।
त्यसअघि बुटवलको अस्थायी निवासमा आज बस्न लागेको बैठकले संसदीय दलको नेताको पनि टुंगो लगाउने अनुमान गरिएको छ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसयता एमालेमा केही असन्तुष्टि देखिदै आएको छ।
संसदीय दलमा देखिएको असन्तुष्टीलाई समाधानका लागि बैठकमा एमाले प्रदेश कमिटी ईन्चार्ज समेत रहेकी एमाले सचिव पद्मा अर्याललाई समेत डाकिएको छ।
लिला गिरीले दलको नेताबाट राजिनामा दिए सँगै प्रमुख सचेतकको पद समेत रिक्त रहेको बुझाई प्रमुख सचेतक तुल्सी चौधरीको छ। चौधरीले आफुलाई प्रमुख सचेतक नियुक्त गरेका दलको नेताले राजिनामा दिएपछि आफु स्वतः पदमुक्त भएको बताउँदै आएका छन्।
आजको बैठकको अध्यक्षता दलका उपनेता आचार्यले गर्नेछन् त्यस लगत्तै दलको नेता चयन र प्रमुख सचेतकबारे छलफल हुने छ।
एमाले सचिव एवं प्रदेश ईन्चार्ज पद्मा अर्यालले आजको बैठकले दलको नेता टुंगो लगाइने जानकारी दिइन्।