जनता समाजवादी पार्टी (जसपा) नेपालको चार महिने संगठन निर्माण अभियानमा खटाइएका केन्द्रीय सदस्यहरूले पार्टी कार्यक्रम तथा गतिविधि सम्बन्धी प्रचार प्रसारको अनुगमन हुने भएको छ।
पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीले आधारभूत संगठन निर्माण अभियानमा खटिएका अभियन्ताले पार्टीका कार्यक्रम र गतिविधिहरूको दैनिक रूपमा आफ्नो सामाजिक सञ्जालको खाता वा पेजमा प्रचार प्रसार गरे, नगरेको अनुगमन गर्न पार्टी प्रचार प्रसार विभाग, केन्द्रीय अनुगमनकर्ता र सम्बन्धित समितिको मुख्यसचिव वा सचिवलाई तोकेको छ।
अभियन्ताले सामाजिक सञ्जालमा पोस्ट गर्दा भाषा शैलीमा शुद्धता र शिष्टता अपनाउनुपर्ने छ। साथै व्यक्तिगत आरोप, प्रत्यारोप, कुनै जाति वा धर्मप्रति लक्षित भएर पोस्ट गर्न पाइने छैन।
यस अभियानको समाचार सम्प्रेषण गर्न पार्टी प्रचार प्रसार विभाग र प्रेस मञ्चले सम्बन्धित क्षेत्रहरूमा सदस्यहरूलाई तोक्न सक्ने गरी जिम्मेवारी तोकिएको छ।