राष्ट्रिय सभाको बिहीबारको बैठकमा सत्तापक्ष नेपाली कांग्रेस र विपक्षी नेकपा (माओवादी केन्द्र) का सांसदहरूबीच आरोप प्रत्यारोपमा उत्रिएका छन्।
माओवादीका सांसद झक्कुप्रसाद सुवेदी र कांग्रेसका सांसद नारायणदत्त भट्टले रोस्टमबाटै आरोप र प्रत्यारोप गरेका हुन्।
पहिले बोलेका सुवेदीले संविधान संसोधन गर्न लागिएको विषयलाई लिएर कांग्रेस नामको मात्रै लोकतान्त्रिक पार्टी भएको बताएका थिए।
संविधान संसोधनमार्फत १० प्रतिशत थ्रेसहोल्ड राखेर कांग्रेस र एमालेबाहेक अरू पार्टी सिध्याइदिने पक्षमा कांग्रेस उभिएको उनले बताए।
'लोकतान्त्रिक पार्टीले सयौं फूलहरू फुल्न दिने हो कि बहुदलीय व्यवस्थाबाट दुई दलीय व्यवस्थामा ल्याउने हो। कांग्रेस दुई दलीय व्यवस्थामा जान खोजेको हो?,' उनले प्रश्न गरे।
संविधान संसोधन गरेर समानुपातिक प्रणाली हटाउन खोजिएको पनि सुवेदीले बताए।
'अनि तपाईंहरू केको लोकतन्त्रवादी, राजा हुन्जेलसम्म प्रजातन्त्रवादी भन्नुहुन्थ्यो। ०६३ सालपछि लोकतन्त्रवादी भन्न थाल्नुभयो। तपाईंहरू नामको मात्र लोकतन्त्रवादी हुँदै हुनुहुन्छ,' उनले भने।
उनले संविधान संशोधन गर्नुपर्ने तर शासकीय प्रणाली परिवर्तन गर्ने सम्बन्धमा संसोधन हुनुपर्ने बताए।
'संविधान संसोधन गर्नुपर्छ। शासकीय प्रणाली परम्परागत छ। यसबाट नेपाली जनताको समस्या समाधान गर्न सकिँदैन। प्रधानमन्त्रीले यो संशोधन संसदमा लैजानुहोस् हामी समर्थन गर्छौं,' उनले भने, 'पूर्ण समानुपातिकमा जाऔं। लोकतन्त्रवादीले उठाउने कुरा हो। नेपाली कांग्रेसले उठाउने कुरा हो। हामी माओवादीले उठाउने कुरा होइन। हामी त साम्यवादी हौं। कांग्रेसले उठाउने कुरा मैले उठाइरहेको छु।'
कांग्रेस सांसद नारायणदत्त भट्टले नचाहँदा नचाहँदै पनि राजनीतिक विषयमा प्रवेश गर्नुपर्ने अवस्था आएको बताए। उनले माओवादी सांसदहरूले सदनमा यसरी निर्धक्क बोल्न सक्ने अवस्थाको सिर्जना नै कांग्रेसले गर्दा भएको बताए।
'आज कांग्रेस नभएको भए हाम्रो घाँटी रेटिँदा हामीले ढुंगा खाँदा सबै विचारको सम्मान गरेर आज यो सदनमा उभिएर बोल्न सक्ने ठाउँ हुँदैनथ्यो होला, कहिले असल कुराहरूको पनि ख्याल गर्नुस्,' उनले भने।
उनले प्रजातन्त्रबारे कांग्रेसलाई कसैले सिकाइरहन जरूरी नभएको बताए। कांग्रेस गाली खानै जन्मेको पार्टी भएपनि विपक्षीका विचारको सम्मान गर्न पनि सिकेको बताए।
भट्टले कांग्रेस र माओवादीले संयुक्त रूपमा भोट मागेपनि जनतासँग बेइमानी कसले गर्यो भन्ने प्रश्न उठेको बताए। 'सबै कुराको दोषी कांग्रेस नै हो? केही कुरा सम्झिऔं,' उनले भने।
भट्टले संविधान सभाको पहिलो निर्वाचनमा बहुमत ल्याएको दलले संविधान बनाउन नसकेको र त्यसमा कांग्रेस नै चाहिएको बताए।
'संविधान सभामा बहुमत ल्याएको पार्टीले बहुमत दिन नसकेको कुरालाई ख्याल गरेका छौ। कसले दियो संविधान? कांग्रेस नै चाहियो? कांग्रेसबिना घाँटीमा पानी नजाँदो रहेछ नि त, असल कुराको कुरै नगर्ने?,' उनले भने।
भट्टले आरोप प्रत्यारोप, लाञ्छना लगाउन र कसैका बारेमा तितो टिप्पणी गर्नका लागि संसद उपयुक्त ठाउँ नभएको बताए। 'एकचोटी बगलीमा झाँकेर हेर्नुस् के-के छ केके छैन। के गर्यौं के गरेनौं। यो वादविवाद गर्ने ठाउँ होइन,' उनले भने।
भट्टले सरकार गुमाउनुपर्दा माओवादी धङधङीमा रहेको बताए। तर सरकार किन गुमाउनपर्यो कसका कारण गुमाउन पर्यो भन्ने विषयमा आत्मालोचना नगरिएको भट्टले बताए।
संविधान संसोधनको कुरा आउँदा कसैको ज्वरो आउन नपर्ने पनि उनले बताए। 'कसैको अधिकार खोस्न र कसैलाई अधिकार बढाउन खोजिएको छैन। संविधान संसोधनको कुरा उठ्दा कसैको टाउको दुख्न पर्दैन,' उनले भने।
राजनीतिक आरोप प्रत्यारोप गर्नुभन्दा आम जनताको सरोकारका विषयहरूमा सदनमा छलफल गर्न उनले आग्रह पनि गरे। 'आज देशमा विपत्ति छ, बाढी, पहिरो छ। ती जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस्,' उनले भने।