नेकपा (माओवादी केन्द्र) का सांसद झक्कु सुवेदीले आगामी आम निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर जान सुझाव दिएका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सुवेदीले राजनीतिक स्थिरताकै लागि दुई ठूला दल मिलेको हो भने अर्को चुनावमा पनि मिलेर जाँदा ठिक हुने बताए।
‘त्यसपछि बराबर सिट बाँड्नुस्, एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले कांग्रेसले उठाओस्, मान्दैन भने गाई र त्रिशूल गर्नुस्, सबै देश कब्जा गर्नुस्,’ उनले भने।
तर देश कब्जा गर्न खोज्दा परिणाम के हुन्छ भन्ने विषय केही अगाडि श्रीलंका र हालै बंगलादेशमा भएको घटनाक्रम उदाहरण हुने बताए।
‘श्रीलंकाका राजापाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए। उनको हालत आज के भइरहेको छ। शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ,’ उनले भने।
सांसद सुवेदीले कांग्रेसले देशलाई दुई दलीय व्यवस्था हुँदै अधिनायवादतर्फ लैजान खोजेको बताए।
उनले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमा जान पनि आग्रह गरे। महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने बताए।