नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले अख्तियार दुरूपयोग अनुसन्धान आयोग आफैमा उत्कृष्ट अनुसन्धान गर्ने संस्था बन्नुपर्ने बताएका छन्।
भ्रष्टाचार निवारण ऐनको संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार छलफलमा बोल्दै उनले अख्तियार आफै अनुसन्धानमा उत्कृष्ट हुनुपर्ने बताएका हुन्।
अख्तियारमा जाने कर्मचारीहरू छोटो समयका लागि रहने र कर्मचारीले काम जानिसकेपछि भने त्यहाँबाट सरूवा हुने परिपाटी रहेको पनि उनले बताए।
‘पहिला अख्तियार भन्ने संस्था नै अनुसन्धान गर्ने उत्कृष्ट संस्था बन्नुपर्छ। छोटो समयमा कर्मचारी सरुवा हुने। कर्मचारी सिकाउनुपर्ने र जानिसकेपछि सरुवा हुने गरेको देखिएको छ,’ उनले भने, ‘तपाई आफै प्रविधिमैत्री हुनुपर्यो र अनुसन्धानलाई बढीभन्दा बढी प्रभावकारी हुन्छ। यो संस्थामा जो कर्मचारी पुग्नुहुन्छ उहाँले राष्ट्रलाई महत्वपूर्ण योगदान दिन सक्ने संस्था बन्नुपर्छ।’
त्यसैगरी कुनै पनि कर्मचारीले आफ्नो जिम्मेवारी ६ महिनामा पूरा नगर्नेलाई पनि जरिवाना तिराउने व्यवस्था गर्नुपर्ने उनले बताए। उनले यो ऐनलाई २० वर्षसम्म पनि संशोधन गर्न नपर्ने गरी संशोधन गरौं भनेर प्रस्ताव राखेका थिए।