कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउन शीर्ष नेताहरूले गरेको सम्बोधन ऐतिहासिक भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री चौरसियाले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने शुद्ध भावनाका साथ सांसदहरूले सम्बोधन गर्नुले लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश गएको बताए।
देशको लोकतन्त्रलाई कसैले हल्लाउन नसक्ने सन्देश गएको पनि उनले बताए।
उनले विधेयक पीडितहरुको पक्षमा रहेको पनि बताए।
‘सबैले एक स्वरमा शान्ति प्रक्रिया निस्कर्षमा पुर्याउने शुद्ध भावनाका साथ संसदलाई सम्बोधन गर्नुभएको छ। यसले यो देशको लोकतन्त्र दिगो छ, बलियो छ, यसलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश देशभित्र गएको छ,’ उनले भने, ‘विधेयक द्वन्द्वपीडितमैत्री छ, पीडितहरुको पक्षमा छ। पीडितको स्वतन्त्र सहमति भएमात्रै मेलमिलाप हुने भनेको छ।’
मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्वको अवस्था नआउने गरी विधेयकमा व्यवस्था गरिएको बताए। (न्युज एजेन्सी नेपाल)
यो पनि: प्रतिनिधि सभाबाट टिआरसी विधेयक पारित