काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न साइबर ब्यूरोलाई आग्रह गरेकी छिन्।
जेठ १३ र असार २५ गते उपप्रमुख डंगोलले केही पेजहरू बन्द गर्न आग्रह गरेको बताएको छ। अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामाग्री प्रकाशन भैरहेको भन्दै डंगोलको सचिवालयले पुनः ब्यूरोलाई आग्रह गरेको छ।
उपप्रमुख डंगोलले अनधिकृत तरिकाले खोलिएका पेजहरूमार्फत महिला दिदी–बहिनीहरूको चरित्रहत्या गरी समाजमा विद्वेष फैलाउने गलत गतिविधि मौलाएको बताइन्।
'अनधिकृत तरिकाले खोलिएका पेजहरूमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिला दिदी–बहिनीहरूको चरित्रहत्या गर्ने जस्ता कार्यहरू बढ्दै गएका छन्,' उनले भनिन्, 'मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरू प्रविधिको दुष्प्रयोग गरेर चरित्रहत्या गर्ने कार्यहरू भइरहेका छन्। यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदी–बहिनीहरूले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महशुस गर्नुपर्ने हुन्छ। त्यसैले यस्ता गविविधिहरूलाई नियन्त्रण गर्नुपर्छ भनेर मैले सार्वजनिक मञ्चहरूमा पनि भन्दै आएको छु।'
यस्तै, उपप्रमुख डंगोलले आफू त्यस्ता गतिविधिका कारण पीडित भएको भन्दै ब्यूरोलाई अवाञ्छित गतिविधिहरुलाई निगरानी गर्न, रोक लगाउन र कानुन वमोजिम हदैसम्मको कारबाही गर्न आग्रह गरेकी छिन्।