प्रतिनिधि सभा बैठक जारी छ। नयाँ बानेश्वरको संसद भवनमा बैठक बसिरहेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
अहिले टिआरसी विधेयकबारे बैठकमा छलफल चलिरहेको छ। यसैबीच संघीय संसद बाहिर मुखमा टेप लगाएर एक जना व्यक्तिले विरोध प्रदर्शन गरेका छन्।
प्रतिनिधि सभा बैठक चलिरहँदा अछाम घर भएका दीपक देवकोटाले मुखमा टेप लगाएर विरोध प्रदर्शन गरेका हुन्। उनले 'भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी प्रकरण, गिरीबन्धु प्रकरणका नाइकेहरूलाई कारबाही खोई?,' 'बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि गर्नुपर्ने हो?' भनेर प्लाकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्।
विरोध गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।