नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अरू दलका नेताहरूले 'माओवादी जनयुद्ध' भन्ने शब्द उच्चारण नै गर्न नखोज्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले संविधान सभाले नै माओवादी सशस्त्र संघर्षलाई 'जनयुद्ध' नाम दिएको भएपनि दलका नेताहरूले त्यसलाई बिर्सन खोजेको बताएका हुन्।
संविधान सभाबाट पारित संविधान र त्यसको व्याख्यात्मक टिप्पणीमा प्रस्तावनाको अनुच्छेद ३ मा रहेको ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष भन्नाले वि.सं १९९७,२००७,२०१८,२०१८, २०३५/०३६, २०४२, २०४६ सालमा भएका संघर्ष र आन्दोलन र विस ०६२/०६३ भएको माओवादी जनयुद्ध, मधेस आन्दोलनलगायत ऐतिहासिक आन्दोलन र सशस्त्र संघर्ष जनाउँछ भनी व्याख्यात्मक टिप्पणीमा राखिएको छ,' प्रचण्डले भने।
त्यतिबेला कांग्रेसका पूर्णबहादुर खड्काको सभापतित्वमा रहेको समितिमा 'माओवादी जनयुद्ध' लगायत सबै आन्दोलनको नाम उल्लेख गर्ने वा 'माओवादी जनयुद्ध' व्याख्यात्मक टिप्पणीमा पनि नराख्ने भन्ने सम्बन्धमा छलफल हुँदा 'माओवादी जनयुद्ध' लगायत सबै आन्दोलनको नाम राख्ने निर्णय भएको प्रचण्डले बताए।
'अहिले पनि नेताहरू बोल्दाखेरि हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ,' उनले भने, 'माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ। जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ।'
शान्ति सम्झौतालाई निष्कर्षमा पुर्याँदैछौं भने ती परिघटनामा गरेका छलफलहरू र भएका सहमतिहरूलाई विस्मृतिमा लैजान नहुने अध्यक्ष प्रचण्डले बताए।
उनले 'जनयुद्ध'को राजनीतिक र वैचारिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण रहेको बताए।
'यदि जनयुद्ध बिशुद्ध ध्वंसात्मक मात्रै हुन्थ्यो गैर वैचारिक र गैर राजनीतिक हुन्थ्यो भने संसारमै मोडेल शान्ति प्रक्रिया भनेर गर्व गरिराखेका छौं, त्यो सम्भव हुने थिएन,' उनले भने।
उनले संविधान, जनताले प्राप्त गरेको उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरणका र जनतालाई थप अधिकारसम्पन्न बनाउन सबैसँग मिलेर जान तयार आफू तयार भएको पनि बताए।
'शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन अन्तिम समयसम्म लागिपर्ने विश्वास र प्रतिबद्धता व्यक्त गर्छु,' उनले भने।
यो पनि: सेना समायोजन र हतियार व्यवस्थापन गर्दा मेरो पार्टी विभाजन भयो, देश बँच्यो: प्रचण्ड