प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन्।
लोकतन्त्रविरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरू मुलुकमा प्रकट भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने भन्ने बारेमा सरकार सचेत रहेको बताएका छन्।
बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक परिस्थितिबारे धारणा राख्दै उनले यस प्रवृत्तिलाई निस्तेज पार्न सरकार सजग रहेको बताए।
प्रधानमन्त्री ओलीले केही वाञ्छित उपलब्धिहरू हासिल नभएको भन्दैमा ती विषयलाई अतिरञ्जनाका साथ प्रश्तुत गरेर प्रणालीकै विरुद्ध जाने खालको अभिव्यक्ति सरकारका लागि सैह्य नहुने बताए।
लोकतान्त्रिक प्रणालीविरुद्ध देखापरेका प्रवृत्तिबाट देशलाई मुक्त गराउने काममा सरकार लागिपर्ने प्रतिवद्धता पनि उनले बताए।
‘अहिले केही केही प्रवृत्तिहरू देखापर्न खोजेका छन्। लोकतन्त्रको विरुद्धमा अथवा हामीले रोजेर ल्याएर स्थापित गरेको, संघर्ष गरेर, बलिदान गरेर छानेको यस प्रणालीका विरुद्ध गन्तव्य के हो भन्ने स्पष्ट नगरिकन केही प्रवृत्तिहरु कहाँ पुग्ने भन्ने केही थाहा छैन, के बनाउने भन्ने कुरा थाहा छैन। तर प्रणालीभन्दा बाहिरका प्रवृत्तिहरू सामाजिक मर्यादा, सभ्यता, शिष्तटाका सीमाहरुलाई सामाजिक बन्धनहरु जो अदृश्य हुने गर्दछन्। लोकतन्त्रविरुद्ध सामाजिक वन्धन, नैतिकता वन्धन, इमानका वन्धन, यस्ता कुराहरुको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरु प्रकट भएका छन्। यसप्रति हामी सजग रहनुपर्छ भन्नुको अर्थ यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने ? यसका निम्ति विभिन्न ढंगले भडकाउन खोजिएको छ।’
(न्युज एजेन्सी नेपाल)