नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए।
उनले दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए।
उनले सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरूरी रहेको बताए।
उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए।
उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने? त्यसबारेमा सोच्नुपर्छ। सरकारले खर्च गरिरहेको छ तर ठिक ठाउँमा गइरहेको छैन। ठिक ठाउँमा पुर्याउन दबाब दिनुहोला। हाम्रो छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाइको सरकार थियो। जहाँको ग्रोथ ११ प्रतिशतले बढिरहेको थियो, अचानक घटना भयो। प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो। यो सामान्य घटना होइन।’
उनले अगाडि भने, ‘नेपालमा आर्थिक अवस्था जर्जर छ। राजस्व उठ्छ १०/११ खर्ब, चालु खर्चमा १२/१३ खर्ब हुन्छ। ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौं। तर बंगलादेशको त्यो होइन। बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाइको सरकार थियो। त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनै पनि बेला केही हुनसक्छ, त्यतातिर पन सतर्क हुनुस्। किनभने सामाजिक सञ्जाल अहिले एकदम एग्रेसिभ्ली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ।’
नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे।–न्युज एजेन्सी नेपाल