सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार सदनबाट विश्वासको मत लिने भएका छन्।
मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको दोस्रो बैठकमा सभामुख भीम भण्डारीले सो कुरा जानकारी दिएका हुन्।
उनले मुख्यमन्त्री शाहबाट विश्वासको मत लिने प्रयोजनका लागि सभाको व्यवस्थापन गरिदिनुहोला भन्दै पत्र आएको सदनलाई जानकारी गराएका थिए। बुधबार दिउँसो ३ बजे शाहले विश्वासको मत लिने छन्। तबसम्मका लागि संसद बैठक स्थगित भएको छ।
मंगलबारकै प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश सामूहिक राजस्व संकलन सम्बन्धी अध्यादेश बहुमतले पारित भएको छ।
अघिल्लो बैठकमा टेबल भएको अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको जानकारी सभामुख भण्डारीले गराएका थिए। त्यसपछि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सो अध्यादेश स्वीकृत गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
त्यसपछि सभामुखले अनुमति दिएपछि प्रदेश सभामा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले सुपप्र स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफलका लागि विधायन तथा प्रदेश सभा मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव टेवल गरेका थिए।
सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि सो प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।