बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरूले जोड दिएका छन्।
उनीहरूले बंगलादेशका पछिल्ला घटनाक्रमबारे संसदमा धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले सरकारले सो बारेमा आफ्नो धारणा बनाउनुपर्ने माग गरे।
नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताए।
मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले अल्पसंख्यक हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भएको क्रुर आक्रमणको निन्दा गर्दै सरकार मौन रहेकोमा दुःख व्यक्त गरे।
उनले बङ्गलादेशमा भएको ‘कू’ को मूल कारण व्यापक भ्रष्टाचार र शासकको निरंकुशता, अहंकार, दम्भ र प्रतिशोध भएको पनि दाबी गरे।
सांसद केसीले भ्रष्टाचार सीमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए।
बैठकमा नेकपा एमाले सांसद किरणकुमार साहले पनि बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाका विषयमा मौन बस्न नहुने बताए।
उनले छिमेकी बंगलादेशमा हिन्दुहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए।
उनले नेपाल सरकारले बंगलादेश सरकारालाई हिन्दुहरूमाथि भएको हिंसाका विषयमा कूटनीतिक माध्यमबाट ध्यानाकर्षण गर्नुपर्ने बताए।—न्युज एजेन्सी नेपाल