जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ।
मंगलबारको बैठकमा नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका र जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा विषयमा नेताहरुलाई प्रशिक्षण दिइने छ।
प्रशिक्षण सम्पन्न भएसँगै आइतबार बैठकमा प्रस्तुत गरिएको पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरुमाथि छलफल हुने छ। साथै बैठकले केन्द्रीय समिति सदस्यहरूलाई आधारभूत संगठन निर्माण अभियानमा खटाउने गरी कार्यविभाजन गर्नेछ।
आइतबारदेखि जारी बैठक बुधबारसम्म चल्ने छ ।
सोमबारको बैठकमा विजययकान्त कर्णले वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, प्राध्यापक प्रणव खरेलले सामाजिक लोकतन्त्र र समाजवादको आधारभूत अवधारणा, अधिवक्ता शंकर लिम्बूले संविधानमा समुदायको प्रस्ताव र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उमाशंकर प्रसादले समाजवादी लोकतन्त्रको आर्थिक पक्ष विषय शीर्षकमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिएका थिए।