परराष्ट्र मन्त्री आरजु राणा देउवा र नेपाल भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
परराष्ट्र मन्त्री राणाले नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएकी छन्।
विदेश सचिव मिस्रीले सोमबार नै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए।
उनले त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग पनि भेटवार्ता गरेका थिए।
विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ।