दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
आइतबार देउवा निवास बुढानिलकण्ठमा उनीहरूबीच भेटवार्ता भएको हो।
दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने र द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
त्यस्तै नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा पनि छलफल भएको थियो।
भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार आइपुगेका हुन्। यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ।
विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी सोमबार फर्किने तालिका छ।