नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले नयाँ पुस्तालक्षित गरेर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नयाँ पुस्ता पुराना राजनीतिक दल तथा नेताहरूप्रति नै आक्रामक ेदखिएकोले नजरअन्दाज गर्न नहुने बताए।
‘नयाँ पुस्ता आज तपाईं हामीप्रति आक्रामक छ। जसलाई हामीले चिनेर पनि नजरअन्दाज गरेका छौं। यहि पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरूले सबैभन्दा बढी वहकाइ रहेको छ,’ उनले भने, ‘हो यहि कुराको उत्तर खोज्न पनि नयाँ पुस्तालक्षित कार्यक्रम अझ सार्थक र सघन रुपमा ल्याउनु पर्दछ। पार्टीमा नयाँ पुस्ताको प्रवेशलाई बढाउने कार्यक्रम डिजाइन गर्नुपर्यो। नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने कार्यक्रम ल्याउनु जरुरी छ।’
उनले कांग्रेसको १५ औं महाधिवेशन गर्न अब समयबद्ध कार्यतालिका ल्याउनु पर्ने पनि बताए।
उनले राष्ट्रिय परिचयपत्र लिने क्रममा हजारौं सर्वसाधारणले झण्झट बेहोर्नु परेको पनि बताएका छन्।
‘नागरिकता साथमा हुँदाहुँदै बनाउन लगाउनेदेखि अनेक दु:ख दिने काम भएका कारण नागरिक रुष्ट छन्। संघ देखि स्थानीय तहसम्म कर बुझाउन जाने सर्वसाधारण पनि खुसीभन्दा रुष्ट हुँदै फर्कने अवस्था छ। राजदूत नियुक्तिको मापदण्ड विपरित नियुक्ति गर्दा अहिले विरोधका स्वर सुनिन थालेका छन्,’ उनले भने।