नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जन नरसिंह केसीले जनताको आवाजलाई नेतृत्वले बेवास्ता गर्न नहुने बताएका छन्।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै केसीले जनता तथा कार्यकर्ताका आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्न नहुने बताएका हुन्।
‘जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्नु हुँदैन,’ केसीले भने, ‘सुनुवाइ संयन्त्रको विकास जरूरी छ। अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुन सक्छ।’
उनले देशब्यापी निरासा र जनआक्रोशको प्रमुख कारण– भ्रष्टाचार, दण्डहिनता, कुशासन र आर्थिक अपराध भएको बताए।
‘यसका विरुद्ध सरकार र जनस्तरको आन्दोलन कांग्रेसकै नेतृत्व र समन्वयमा हुनुपर्छ। आजसम्म चर्चित र नीतिगत भ्रष्टाचार काण्डको छानबिन गर्न कुनै पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसले नै पहलकदमी गरोस्,’ केसीले केन्द्रीय समिति बैठकमा भने।
उनले शासकीय खराबीलाई समाप्त गर्न नसके तिनैले कांग्रेसलाई सिध्याउन सक्ने तथा जनताको पदचाप र वरपरका घटनाबाट समयमै शिक्षा लिनुपर्ने पनि बताए।
‘मुख हेरेर दण्ड र पुरस्कार होइन। कसूर हेरेरेर दण्ड र क्षमता हेरी पुरस्कार नै हामीले खोजेको विधिको शासन हो र लोकतन्त्र हो। हरेक क्षेत्रमा गुणतन्त्र (मेरिटोक्रेसी) भन्दा आफ्ना मानिसलाई पुरस्कारतन्त्र हाबी देखिएको छ। यसले जनमानसमा चरम निरासा उब्जाएको छ,’ केसीले भने।
उनले दक्षिण एशियामा द्वन्द्वको खतरा र संकटजन्य अवस्था मडारिरहेको पनि बताए।
‘शासकहरू एकपछि अर्को पलायन भएका छन्। यसका कारकपक्ष र पृष्ठभूमीतर्फ राज्य र राजनीतिक दलहरूले सुक्ष्म विश्लेषण र अध्ययन गर्दै समयमै चनाखो हुनु जरुरी छ,’ उनले भने।
असार १७ मा नेकपा (एमाले) सँग भएको सत्ता सहमतिका सात बुँदे सहमतिको आधारमा यथाशीघ्र साझा न्यूनतम कार्यक्रमको तयारी र संविधान संशोधनमा सकेसम्म राष्ट्रका सबै पक्षको सहमति निर्माण सरकारको दायित्व रहेको उनले बताए।
सरकार नारामा सीमित रहनु दुर्भाग्यपूर्ण हुने भन्दै उनले वर्तमान सरकारको सफलता राष्ट्रकै निमित्त ठूलो अवसर बन्ने र यसको असफलताले सम्पूर्ण पद्धतिमा नै संकट आउन सक्ने पनि बताए।