नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले राजनीतिक रूपमा सत्ता गठबन्धनबारे दलीय सहमतिको नेतृत्व गरेझैं कांग्रेसले आर्थिक अवस्था सुधार गर्न पनि अग्रसरता लिनुपर्ने बताएका छन्।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै पोखरेलले भने, ‘पछिल्लो दशकमा सरकारहरूले अर्थतन्त्रको अवस्था सुधार गर्नेतर्फ आवश्यक इमान्दार प्रयास गरेको देखिँदैन। राजनीतिक रूपमा सत्ता गठवन्धन गर्ने सम्बन्धमा हामी सक्रिय भएर दलीय सहमत भई संविधानसमेत संशोधन गर्न तयार हुन्छौं तर आर्थिक अवस्था सुधार्न नीतिगत सुधारका लागि पनि यस्तै दलीय सहमति गर्न नेपाली काग्रेसले नै अग्रसरता लिनु पर्यो र पहल गर्नुपर्यो।’
नेपालको अर्थतन्त्र अतिन्यून बचत र लगानी, न्यून आर्थिक वृद्धि, न्यून रोजगारीसहितका दीर्घकालीन संरचनात्मक समस्यावाट माथि उठ्न नसकेको पनि उनले बताए।
अर्थतन्त्रको तेस्रो खम्बा भनिएको सहकारी दलदलमा फसेको र वाह्य क्षेत्रमा अल्पकालीन सुधार भए पनि घट्दो निर्यात तथा नगण्य वैदेशिक लगानीको कारणले यस क्षेत्रलाई दीर्घकालीन रूपमा सुधार गर्न आवश्यक रहेको उनले बताए।
‘कानूनी, झण्झटिलो लगानी प्रकृया, कर, पूर्वाधार, कार्यान्वयन भएका अडचन सहितका सवै अवरोध हटाई व्यवहारिक रुपमा लगानी आकर्षण हुने वातावरण वनाउनु अत्यावश्यक छ, नत्र न अर्थतन्त्र चलायमान हुन्छ न विकास,’ उनले भने, ‘काग्रेस सम्मिलित वर्तमान सरकारले जिम्मेवार भएर संरचनात्मक समस्याहरुको संबोधन गरी अर्थतन्त्रलाई चलायमान वनाउँदै व्यवहारिक सुधार कार्यक्रम तयार गरी कार्यान्वयन गराउन अपरिहार्य छ।’
लगानीका लागि सरकारले अनुकूल वातावरण छ भनेर मात्रै नपुग्ने भन्दै पोखरेलले भारत र रुवाण्डाजस्तै स्वदेशी विदेशी सवै लगानीकर्ताले एक स्वरमा अनुकूल छ भन्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
‘नयाँ गठबन्धन बनेदेखि पुँजीबजार गतिशील छ, यो राम्रो संकेत हो। तर यसको गतिशीलताबट सरकारले भने जति फाइदा लिन सकेको छैन बरु यसले सरकारको नीतिगत कमजोरीका कारणले आर्थिक असमानता बढाउने काम गरेको छ,’ उनले भने, ‘भारतमा जहा पुँजीबजारको प्रणाली हाम्रो भन्दा बढी सबल छ, त्यहा पुँजीको लाभकर एक वर्षभन्दा कमको २०% र एक वर्ष भन्दा बढीको १२.५% छ जबकि नेपालमा त्यो ७.५% र ५% छ। यसको मतलब पुँजीबजारमा दिनमा कोही व्यक्तिले लाखौं कमाएका पनि छन् तर तिनले जम्मा ७.५% मात्र कर तिरे पुग्ने नीतिगत व्यवस्था छ।’
कांग्रेसका हरेक तहका नेतृत्वले निजी क्षेत्रबारे धारणा राख्दा कर तिर्ने समुदायप्रति वितृष्णा जगाउन नहुने उनले बताए।