उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल (आयोन) ले आइतबार गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा सुधार ल्याउन अझ राम्रो गर्नुपर्ने बताए।
आरोप प्रत्यारोपले मात्रै देशको अवस्था नसुध्रने उनको भनाइ छ।
देशमा बेरोजगारीको समस्या रहेको भन्दै उनले त्यसलाई समाधान गर्न सबैले मिलेर काम गर्नुपर्ने बताएका छन्।
अहिलेको सरकार देशलाई आर्थिक समृद्धिमा लैजाने सहमतिको जगमा बनेको भन्दै युवाहरुले भोगिरहेको समस्या समाधानमा सरकार गम्भीर रहेको सिंहले बताए।
‘अधिकार प्राप्त गर्न पनि आवाज उठाउनुपर्छ तर आफ्नो जिम्मेवारी र कर्तव्यलाई पनि ध्यान दिऔं। अहिलेको अवस्थाबाट पार गर्नका लागि संवेदनशील भएर तथ्यलाई केलाएर मात्र हामी राम्रो अवस्थामा जानसक्छौं। आर्थिक,सामाजिक परिवर्तन र पद्धतीमा देशलाई अघि बढाउन युवाहरुको भूमिका महत्वपूर्ण रहन्छ,’ उनले भने।