नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरूप परिवर्तन गरी जनतामा जाने भएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सो बारेमा छलफल भएको हो।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरूप बनाई नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गरेको बताए।
उनले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राखेको जानकारी दिए।
बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरू परशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले आफ्ना धारणा राखेको बताए।
उनले भने, ‘अध्यक्षले आज ८ औं महाधिवेशनमा विचारको संश्लेषण गर्नुभएको थियो, अब अहिलेका लागि मार्गनिर्देशक सिद्धान्त त्यही नै हो। अब विगतका संश्लेषणहरूको अध्ययन गर्नुपर्छ। पछिल्लो अवस्थाको ठोस विश्लेषण गर्ने कुरामा राख्नुभयो। पार्टी सुदृढीकरण गर्ने कुरा राख्नुभयो। परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरूको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने र त्यसका लागि सुदृढीकरण अभियान चलाउनुपर्ने बताउनुभएको छ। आन्दोलनका स्वरूप पनि नयाँ ढंगबाट सञ्चालन गर्ने कुरामा अघि बढ्ने र सदन प्रभावकारी बनाउने र सदन र सडक जोड्ने काम गर्ने। नयाँ कार्यक्रमसहित जनतामा जाने कुरामा जोड दिएर राख्नुभएको छ।’
परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरूको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरूले जोड दिएको पनि बताए।—न्युज एजेन्सी नेपाल