सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ।
शुक्रबार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिले सहकारीको छानबिनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिएका हुन्।
उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरूलाई बोलाएर सोधपुछ गरिरहेको बताए।
उनले कारागारमा रहेकाहरूलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए।
उनले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिए पनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको बताए।
उनले सरकारबाट केही जानकारी नआएको बताए।
उनले २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरूरी रहेकाले जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानबिनको लागि ल्याउन सरकारसँग आग्रह गरेको बताए।
उनले समितिले आगामी १ गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरूसँग बयान लिने कार्य सक्ने योजना रहेको बताए।
उनले कारागारमा करिब ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रूपमा अर्बौं रूपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्ने गरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताए।
उनले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताए।
उनले भने, ‘सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छौं। तर पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेका छौं। सरकारबाट केही जानकारी आएको छैन। २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरूरी छन्। जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानबिनको लागि ल्याउन अनुरोध गरेको छ। कारागारमा रहेका व्यक्तिहरू दुईथरी छन्। गार्खा मिडियाको सञ्चालक समितिका पनि रहेका छन्। विभिन्न सहकारीका सञ्चालक समिति, अध्यक्ष लगायत धेरै व्यक्तिहरू रहेका छन्। करिब ३०० व्यक्ति छन्। सबैलाई सोधपुछ गर्न सम्भावना हुँदैन। प्रतिनिधि मुलुक रूपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्ने नामावली तयार गरेर आवश्यक समन्वयको लागि पठाएका छौं।’
उनले अगाडि भने, ‘समितिले कारागारमा गएर सोधपुछ गर्न प्राविधिक कुराहरू मिलाउनु पर्ने हुन्छ। त्यसैले लिखित बयान हो। कारागारमा रहेकाहरूलाई समितिको बैठकमा नै सोधपुछ गरिरहेका छौं। समितिमा ल्याउने प्रबन्ध मिलाइएको छ। सोधपुछको काम १ गतेसम्म सकिन्छ। प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको छ। सोधपुछको काम र वित्तीय विश्लेषणको कामसँगै भएको छ। सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार हुने र त्यसलाई समयमा नै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं। गोर्खा मिडिया प्रा.लिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाउँछौं।’
उनले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताए।
उनले गोर्खा मिडिया प्रा.लि.का तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिए।—न्युज एजेन्सी नेपाल