नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन्।
एक महिनाको विशाल जनप्रदर्शनपछि शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासित भएको तेस्रो दिन बिहीबार युनुसले अन्तरिम सरकार प्रमुखको शपथ लिएका हुन्।
'म पूर्ण निष्ठाका साथ संविधानको रक्षा गर्नेछु,' ८४ वर्षीय युनुसले राष्ट्रपति मोहम्मद शहाबुद्दिनबाट शपथ लिँदै भने।
बंगलादेशी अखबार 'द डेली स्टार' का अनुसार युनुस नेतृत्वको १६ सदस्यीय अन्तरिम सरकारमा पछिल्लो आन्दोलन नेतृत्व गरेका विद्यार्थी नेताहरू नाहिद इस्लामी र असिम महमुद पनि सदस्य छन्। त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ।
कोटा प्रणालीविरूद्ध बंगलादेशमा एक महिनादेखि चलेको सरकारविरोधी प्रदर्शनलाई विद्यार्थी तथा युवा पुस्ताले चर्काएको आन्दोलन भनिन्छ। त्यही युवा पुस्ताबाट प्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गराउनमा २६ वर्षीय नाहिद इस्लामीको नेतृत्वदायी भूमिका रह्यो।
आन्दोलन अवधिभर विद्यार्थी संगठित गर्नेदेखि नेतृत्व गर्नेमा उनको नाम सबभन्दा बढी चर्चामा थियो। उनले हसिना भारत निर्वासित भएपछि सैन्य नेतृत्वको सरकार नस्वीकार्ने चुनौती दिएका थिए। नोबेल विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने सिफारिस उनैले गरेका थिए। युनुसकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने सूचना सार्वजनिक गर्ने पनि नाहिद नै हुन्।
यी पछिल्ला घटनाक्रमले बंगलादेशको आन्दोलनमा नाहिद इस्लामीको भूमिका कति महत्त्वपूर्ण थियो भन्ने झल्काउँछ। उनलाई कतिपयले यो आन्दोलनका 'नायक' पनि भनेका छन्।
आन्दोलनरत युवा तथा विद्यार्थीहरूका तर्फबाट युनुसको नाम सिफारिस भएपछि नै उनलाई अन्तरिम सरकारको नेतृत्व गर्न फ्रान्सबाट डाकिएको थियो। उनी बिहीबार नै ढाका आइपुगेका हुन्।
युनुस सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता हुन्। लाखौं जनतालाई ग्रामीण बैंकमार्फत् सय डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबीको रेखाबाट निकालेपछि युनुसले नोबेल शान्ति पुरस्कार पाएका थिए।
पछि उनी हसिनाको कोपभाजनमा परे। सन् २००७ मा युनुसले दल खोलेर राजनीतिमा आउने सोच बनाएका थिए। युनुसजस्तो लोकप्रिय मान्छे राजनीतिमा आए आफू सत्ताच्युत हुने डर हसिनालाई थपियो। त्यसपछि उनले युनुसमाथि निशाना लगाउन थालिन्। सुरूमा उनले देशमा अवकाश पाउने उमेर ६० भए पनि युनुस ७३ वर्षसम्म ग्रामीण बैंकको प्रमुख रहेको भन्दै २०११ मा उनलाई हटाइन्।
युनुसले विश्व बैंकलाई भड्काएर सन् २०१२ मा पद्मा नदीमाथिको लामो पुल बनाउने योजनामा लगानी नगर्न उक्साएको आरोप हसिनाले लगाएकी थिइन्। पछि युनुसविरूद्ध भ्रष्टाचारको मुद्दा चलाइयो र यसै वर्ष उनलाई अदालतले कैद सजाय सुनायो।
तर समयचक्र यसरी घुम्यो, हसिनाले राजीनामा दिएर देश छाडेपछि आन्दोलनरत युवा तथा विद्यार्थीहरूको मागअनुरूप विदेशमा रहेका युनुसले बंगलादेश फर्केर अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुपर्यो।
युनुसको शपथसँगै बंगलादेशमा उत्पन्न राजनीतिक रिक्तता तत्काललाई टरेको छ।
लामो समयसम्म सैनिक शासनको इतिहास भोगेको बंगलादेशमा हसिनाको बहिर्गमनपछि राजनीति फेरि सेनाको पकडमा जाने हो कि भन्ने शंका गरिएको थियो। युनुसको शपथ र अन्तरिम सरकारमा आन्दोलनरत विद्यार्थी नेताहरूको सहभागिताले बंगलादेश फेरि नागरिक शासनमै फर्किने आशा बढाएको छ।
को हुन् नाहिद इस्लामी?
भारतीय समाचार संस्था एनडिटिभीका अनुसार नाहिद ढाका विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गर्दैछन्। उनी मानव अधिकारकर्मीका रूपमा परिचित छन्। उनी पहिलेदेखि नै हसिनाको पार्टी अवामी लिगविरूद्ध खरो रूपमा बोल्थे। पार्टीमा आबद्धहरूलाई उनले 'आतंककारी' को संज्ञा दिएका थिए।
शाहबाग क्षेत्रमा सरकारविरोधी प्रदर्शन क्रममा उनले भनेका थिए, 'अहिले विद्यार्थीहरूले लाठी बोकेका छन्। हामी हतियार बोक्न पनि तयार छौं।'
नाहिदका यस्तै आक्रोशपूर्ण अभिव्यक्ति र ऊर्जाले थुप्रै विद्यार्थी र युवा जमात प्रदर्शनमा थपिँदै गए।
उनले यो आन्दोलनमा प्राण भर्न सामाजिक सञ्जालको भरपुर उपयोग गरे। खासगरी फेसबुकमा उनी आफ्ना समर्थकहरूसँग नियमित कुराकानी र छलफल गर्थे। उनीहरूलाई ऐक्यबद्ध ढंगले सरकारविरूद्ध ओर्लिन आह्वान गर्थे। उनका पोस्टहरू ऐक्यबद्धता र आन्दोलनमा घाइते भएकाहरूको सहायताका लागि हुन्थ्यो।
यो क्रम बढ्दै गएपछि हसिनाको सरकारले उनीमाथि अंकुश लगाउन खोज्यो। उनलाई जुलाई १९ को दिन ढाकाको सहुजबागस्थित साथीको घरबाट अपहरण गरियो। आँखामा पट्टी बाँधेर, हातमा हतकडी लगाएर उनलाई कुनै अनकन्टार ठाउँमा लगियो र चरम शारीरिक यातना दिइयो।
त्यति बेला अपहरण भएको दुई दिनपछि उनी अचेत अवस्थामा पूर्वाञ्चलको पुलमुनि फेला परेका थिए।
यो घटनाको सातादिन नबित्दै जुलाई २६ मा गोनोष्ठय अस्पतालबाट उनलाई दोस्रोपटक अपहरण गरियो। अपहरण गर्नेमा ढाका नगर प्रहरीको जासुसी शाखादेखि बंगलादेशका उच्च सैन्य बल संलग्न थिए। प्रहरीले भने आफ्नो सहभागिता नरहेको दाबी गर्दै आएको छ।
जुलाईमै भएको आन्दोलन क्रममा नाहिद र ढाका विश्वविद्यालयका केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनी थप चर्चामा आएका थिए।
एक महिनादेखिको यस प्रदर्शनीमा करिब तीन सय विद्यार्थीले ज्यान गुमाएका छन्।
'यो आन्दोलनमा जति विद्यार्थी सहिद भएका छन्, त्यसको मूल्य हामीले बुझेका छौं। कुनै पनि हातलमा हामी त्यो बलिदान खेर जान दिने छैनौं,' नाहिदले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा भनेका छन्, 'हामी नयाँ प्रजातान्त्रिक बंगलादेश बनाउनेछौं जहाँ हाम्रो जीवनको सुरक्षा, सामाजिक न्याय र नयाँ राजनीतिक परिवेश हुनेछ।'