धरानका मेयर हर्क साम्पाङले बिहीबार खानेपानी शुल्क वृद्धिविरूद्ध भएको आन्दोलनमा प्रहरीले गरेको दमनप्रति दुःख व्यक्त गरेका छन्। मेयर साम्पाङले लिखित रूपमा दुःख प्रकट गरेपछि बिहीबारको प्रदर्शन युवा विद्यार्थीले रोकेका छन्।
धरानमा मेयर साम्पाङ अध्यक्ष रहेको खानेपानी बोर्डले ९ सय प्रतिशतसम्म शुल्क र महसुलहरू वृद्धि गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय खारेजीको माग गर्दै १० राजनीतिक दल चरणबद्ध आन्दोलनमा छन्।
त्यसक्रममा बोर्डका कार्यालयहरूमा दलहरूले तालाबन्दी गरेका थिए। लगत्तै उच्च अदालतमा दलहरूविरूद्ध रिट दायर गरेका मेयर साम्पाङको पक्षमा अदालतले अल्पकालीन आदेश दिँदै ताला खोल्न भनेको थियो। दलहरूले आफूले लगाएको ताला आफै खोलिदिएका थिए।
तर, आन्दोलन भने जारी राख्ने बताएका दलहरूकै आह्वानमा बिहीबार उपमहानगर परिसरमा भेला भएका युवा विद्यार्थीहरूले दिनभरीजसो नाराजुलुस गर्ने, गेटमा तोडफोड गर्ने लगायतका विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा गेट नजिकै आएर मेयर साम्पाङले खानेपानीबारे आइतबार १० बजे वार्तामा बोलाएका थिए।
आन्दोलन हाँकिरहेका दलहरूले वार्ता आह्वानलाई सकारात्मक मानेका थिए। तर, तीन जना विद्यार्थी घाइते हुने गरी प्रहरीले दमन गरेको, प्रहरीले बल प्रयोग गरेको घटनाप्रति मेयरले लिखित माफी नमागेसम्म प्रदर्शन नरोक्ने भन्दै विद्यार्थीहरूले नाराबाजी जारी राखे। दलहरू पनि विद्यार्थीलाई साथ दिन बाध्य भए।
‘हामीले वार्ता आह्वानलाई सकारात्मक नै लिएका थियौं तर विद्यार्थीहरूले मेयरले लिखित माफी माग्नुपर्ने र वार्ताको आह्वान पनि लिखित नै गर्नुपर्ने अडान राखेपछि हामीले पनि साथ दियौं,’ कांग्रेस धरानका सभापति श्याम पोखरेलले भने, ‘विद्यार्थीहरूमाथि भएको बल प्रयोगको घटनामा मेयरले लिखित दुःख प्रकट गरेपछि प्रदर्शन रोकिएको छ।’
पोखरेलका अनुसार खानेपानीको शुल्क र महसुल वृद्धिको निर्णय खारेज नभएसम्म धरानमा आन्दोलन जारी रहनेछ। त्यसबाहेक लिखित रूपमा मेयरले वार्ताको आह्वान नगरेसम्म उपमहानगर कार्यालय केन्द्रित प्रदर्शन पनि जारी रहनेछ।
विद्यार्थीमाथि भएको बल प्रयोगमा दुःख प्रकट गरेका मेयर साम्पाङले लिखित रूपमा आन्दोलनकारीलाई वार्तामा बोलाएका छैनन्।