लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गरेका थिए। प्रदेश सरकार गठनपछि असन्तुष्ट रहेका तिमिल्सिनाले यही साउन २१ गते प्रमुख सचेतकबाट राजीनामा दिएका हुन्।
उनले प्रमुख सचेतकबाट राजीनामा दिएसँगै आफूले प्रयोग गर्दै आएको लु १ झ १३०५ नम्बरको गाडी प्रदेश सभालाई फिर्ता गरेका छन्।
गत साउन ९ गते एमालेका चेतनारायण आचार्यको नेतृत्वमा गठन भएको सरकारमा नेपाली कांग्रेसको तर्फबाट तिमिल्सिनाको नेतृत्वमा मन्त्रीहरू सहभागी हुने चर्चापछि उनको नाम हटाइएको थियो।
८ गते रातिसम्म तिमिल्सिनालाई अर्थमन्त्रीको जिम्मेवारी दिएर उनको नेतृत्व सरकार सहभागी हुने करिब पक्का भएको थियो। बिहान शपथ ग्रहणका लागि तयार भएर गएको अवस्थामा एकाएक आफ्नो नाम हटाइएपछि तिमिल्सिना असन्तुष्ट थिए।
पार्टीभित्र संस्थापन पक्षका मानिने तिमिल्सिना नेपाली कांग्रेसका बालकृष्ण खाँण र डिल्ली चौधरीका अत्यन्त निकट मानिन्छन्।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको भागबण्डामा परेका ५ वटा मन्त्रालय संस्थापनइतर समूहले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राखेपछि तिमिल्सिनाको नाम हटाइएको कांग्रेसनिकट स्रोत बताउँछन्।
हाल नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापा मन्त्री भएका छन् भने एउटा मन्त्रालय अझै खाली छ। भएकामध्ये न्यौपाने संस्थापनइतर समूहका मानिन्छन् भने अन्य तीन जना संस्थापन पक्षका हुन्।
संस्थापनइतर समूहले बाँकी मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने अडान राख्दै आएको छ। यसअघि डिल्ली चौधरी नेतृत्वको सरकारमा पनि नेपाली कांग्रेसका प्रदेश सभापति अमर सिंह पुनले मन्त्रिमण्डल विस्तार गर्दा पार्टीसँग कुनै समन्वय नगरेको गुनासो गर्दै आएका छन्।