प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालमा हवाई मापदण्ड तथा नागरिक उड्डयन सम्बन्धी कानुन र अन्तर्राष्ट्रिय अभ्यास कार्यान्वयन भए नभएको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले नेपालमा पछिल्लो समय निरन्तर हवाई दुर्घटना भएको र दुर्घटनैपिच्छे छानबिन समितिहरू बन्ने गरेको भएपनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार नआएको देखिएकाले त्यस्तो निर्देशन दिएको हो।
समितिले हवाई सुरक्षको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको देखिएकाले हवाई सुरक्षाको मापदण्ड र नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र अभ्यासहरू कार्यान्वयन भए नभएकोबारे बुझ्न विज्ञहरू संलग्न छुट्टै स्वतन्त्र समिति बनाएर छानबिन गर्न निर्देशन दिएको हो।
समितिलाई १५ दिनभित्र छानबिन गरिसक्न र नीतिगत सुधारको सिफारिस तथा कोही दोषी देखिए कारबाहीको सिफारिस गर्ने समेत भनिएको छ।
बिहीबार पर्यटन मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग समितिले छलफल गरेको थियो।
समितिले हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न पर्यटन मन्त्रालयलाई अघिल्लो वर्षको पुस ५ गते दिएको निर्देशन हालसम्म कार्यान्वयन नभएकाले पुनः स्मरण गराएको छ।
समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गर्न/ गराउन पनि सरकारलाई निर्देशन दिएको छ।
त्यस्तै यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदल मार्फत पेश भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरु कुन अवस्थामा छन् सोको जानकारी सहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ।