सुदूरपश्चिम प्रदेशमा रोकिएको कर संकलन बिहीबारबाट सुरू गर्ने तयारी गरिएको छ।
प्रदेश सरकारले कर संकलनसम्बन्धी अध्यादेश पारित गरेसँगै कर संकलनको काम सुरू हुने जनाएको हो।
यसअघि प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढी कर संकलन रोकिएको थियो।
तत्कालीन दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसद्मा प्रस्तुत बजेट पारित हुन नसकेपछि साउन १ देखि प्रदेश बजेट शून्यताको अवस्था आएको थियो।
बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट पारित भएमात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानुनी व्यवस्था छ। अहिले दुवै रोकिएको छ। ठूला खर्चहरू नभए पनि सामान्य खर्च भने उधारोमै चलिरहेको छ।
आज सरकारले अध्यादेश ल्याएसँगै कर संकलनको बाटो खुलेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए। उनका अनुसार प्रमाणीकरणको लागि बिहीबार नै प्रदेश प्रमुखसमक्ष अध्यादेश पु¥याइने छ। अध्यादेश प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरू गर्ने तयारी गरिएको सचिव अधिकारीले बताए।
सुदूरपश्चिम प्रदेशमा अघिल्लो वर्ष साउन महिनामा मात्रै साढे १२ करोड राजस्व संकलन भएको थियो। तर अहिले समयमा बजेट पारित नहुँदा राजश्व संकलन ठप्प छ।
प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन्। यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको छ।