राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनका लागि सुझाव मागेको छ।
विधानको मौजुदा व्यवस्था हेरफेर, भाषागत त्रुटि हटाउन रास्वपाले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ गठन गरेको छ।
कार्यदलमा केन्द्रीय समितिका डा. तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन्।
पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ।
विधान संशोधनलाई सहभागितामूलक बनाउन देश–विदेशमा रहेका पार्टी समर्थक, शुभेच्छुकहरूलाई सुझाव दिन आह्वान गरिएको रास्वपाले बताएको छ।
अनलाइनमार्फत सुझाव प्रस्तुत गर्न सकिने रास्वपाले जनाएको छ।
भदौ मसान्तभित्र कार्यदललाई विधान संशोधनको प्रतिवेदन बुझाउन भनिएकाले साउनभित्र सुझाव दिन रास्वपाले आग्रह गरेको छ।
रास्वपाले स्थापनाको दुई वर्षमा तेस्रो पटक विधान संशोधन गर्न लागेको हो।