नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गरेका छन्।
सिंहदरबारमा बुधबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन बुझ्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंग्याउने काम सकारात्मक रहेको बताए।
यस कामलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमासमेत उनले चित्रण गरेका छन्।
यो पनि: संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री ओली, देउवा र प्रचण्डलाई हस्तान्तरण
लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको विषय अहिले टुंगिनु खुशीको कुरा भएको उनले बताए।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा अहिले कार्यादलले एउटा समझदारीका साथ प्रतिवेदन बुझाएको छ। म कार्यदललाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनत र स्पिरिटका साथ कार्यदलले गृहमन्त्री रमेश लेखकले भनेको जस्तो अरुको पनि सहयोग लिएर धेरै छलफल गरेर पीडितमैत्री बनाउँदै निस्कर्षमा पुर्याइएको छ। यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति स्थिरताको पक्षमा रहेका नागरिकको लागि खुशीको कुरा हो। नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु।’
यो पनि: शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछः देउवा
अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई अब ढिलो गर्नु हुँदैन भन्ने लक्ष्यका साथ कार्यदल बनाएको बताए। अब वैधानिक प्रक्रियाबाट संसदको समिति र संसदमा चालु अधिवेशनबाटै यसलाई टुंग्याउन उनले आग्रह गरेका छन्।
(न्युज एजेन्सी नेपाल)