नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताएका छन्।
सिंहदरबारमा बुधबार संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको प्रतिवेदन बुझेपछि सभापति देउवाले मेहनतसँग छलफल गरी कार्यदलले प्रतिवेदन तयार पारेकाले अब शान्ति प्रक्रियाका बाँकी टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्ने बताए।
शान्ति प्रक्रियाका बाँकी काम पूर्ण रुपमा सम्पन्न भए नेपालबाट राम्रो सन्देश जाने र नेपालको शान्ति प्रक्रियाको अनुकरण गर्ने उनको भनाइ छ।
‘साथीहरुले शान्ति प्रक्रिया टुंग्याउनका लागि यो मेहनत गर्नुभयो। सबै धन्यवादका पात्र हुनुहुन्छ। नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसरमा नै यो अनुकरणीय हुनेछ। र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन्,’ उनले भने।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, सभापति देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बुझाइएको छ।
(न्युज एजेन्सी नेपाल)